जेष्ठ ०६,डेस्क। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने दाबी गर्दै प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका छन् ।
राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि ‘निर्णायक आन्दोलन थाल्ने’ बताउँदै आएका छन् ।
गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौँका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो ।
सोही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने बताए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने बताए । यस पटकको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने भन्दै जिकिर गरे ।
उनले भने, ‘हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासनलाई सत्याग्रहको बाटोबाटै अन्त्य गरिएको थियो । हामी यो गणतन्त्रलाई पनि सत्याग्रहको बाटोबाटै अन्त्य गर्छौँ । प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो । लाने हो यसपालि टुंग्याएर छाड्ने हो ।’
उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि गरे । “यसपालिको प्रदर्शन शान्तिपूर्ण हुन्छ । निरन्तर हुन्छ,” उनले भने, “आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन ।”






