माघ २६, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ पिँडारि चोक स्थित बिना दर्ता सञ्चालन गरिएको मुस्कान अस्पतालमा शल्यक्रिया गर्दा एक बिरामीलाई २० दिनसम्म होस आएको छैन।
सर्लाहीको हरपुरवा नगरपालिका वडा नम्बर ५ बस्ने अंकेश यादवकी २५ वर्षीय श्रीमती बबिता यादव पित्त थैलीको पत्थरीको शल्यक्रिया गराउन मुस्कान अस्पतालमा माघ ०३ गते भर्ना भएका थिए। वविताका बुबा ब्रह्मदेव यादवका अनुसार माघ ३ गते मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहको नेतृत्वमा शल्यक्रिया गरिएको थियो। तर, त्यसयता वविता होसमा आएकी छैनन्।
शल्यक्रियापछि विरामीलाई भेन्टिलेटरमा राखेको थियो, एक दिन बित्यो दुई दिन बित्यो तब पनि कुनै सुधार नआएपछि सिटि स्क्यान गराउन अस्पतालले बाहिर पठाएको थियो।
माघ ६ गते ववितालाई जनकपुरस्थित जानकी हेल्थकेयरमा भर्ना गरियो, तर अहिलेसम्म उनी बेहोसी अवस्थामै छिन्। ‘शल्यक्रियामा लापरवाहीकै कारण छोरीको होस आएको छैन,’ बुबा ब्रह्मदेवले भने ।
अब जानकी हेल्थ केयरका चिकित्सकले पनि बिरामीलाई बाहिर लिएर जानुस् भनेका छन् तर परिवारको आर्थिक समस्या नाजुक भएको कारणले उहाँहरू बिरामीलाई बाहिर लिएर जान सकेनन्।
सलक्रियाका क्रममा डाक्टरले लापरवाही गरेको भन्दै उनको बुबाले अस्पताल र डाक्टरहरू माथि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दिएका छन्।
उजुरीमा बिरामीको सुरक्षाको बेवास्ता गर्दै अस्पतालले आफ्नै आर्थिक फाइदाका लागि शल्यक्रिया गरेको आरोप लगाइएको छ।अस्पतालको लापरबाहीप्रति चासो व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह सोमबार साँझ अस्पताल पुगेका छन्।
मुख्यमन्त्री सिंहले घटनाबारे जानकारी लिँदै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।





