माघ २१,जनकपुर/चन्दन रजक। सप्तरीमा शीतलहर बढ्न थालेपछि सर्वसाधारणलाई निःशुल्क दाउरा वितरण गर्न सुरु गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरेको हो । शीतलहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको छन् ।
“गरिब, विपन्न तथा ज्येष्ठ नागरिकको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निः शुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ। अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका हौं”, उनले भने, “जिल्लाका विभिन्न पालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायत करिब पाँच दर्जन भन्दा बढी स्थानमा दाउरा वितरण गरिएको छ ।” जिल्ला भरिमा करिब ४० ट्रेक्टर भन्दा बढी दाउरा वितरण गरिएको प्रमुख दासले बताए ।
शीतलहर बढेर चिसोको प्रभाव बढेपछि सप्तरीमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना बालबालिका लागि आगो ताप्न दाउरा वितरण गरिएको बताइएको छ । बुधबार र बिहीबार विभिन्न चौकमा दाउरा बालेर ताप्नका लागि निःशुल्क दाउरा वितरण गरिएको डिभिजन प्रमुख सुभाष चन्द्र दासले बताए ।
यस्तै, गरिब बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि आगो ताप्ने व्यवस्था गर्न आवश्यक स्थानमा दाउरा वितरण कार्य जारी रहेको दासले जनाएको छ । दाउरा घरमै पाएपछि गरिब, विपन्न तथा ज्येष्ठ नागरिक खुसी भएका छन् । स्थानीयवासी प्रभास मण्डलले वनले गरिब, विपन्न तथा ज्येष्ठ नागरिकका समस्या बुझेको बताए । ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले भने, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’





