आर्मीले जित्यो आफ्नो पहिलो खेल,फाइनल खेल्ने पक्का

|

पुस २८,बिरगंज। बिरगंजमा जारी जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पाएको २८ रनको सामान्य लक्ष्य उसले २ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि दोस्रो पारीमा इमरान शेखले नटआउट ८ र वसिर अहमदले ४ रन बनाए । मधेशका लागि रञ्जित कुमार र प्रदिप पासवानले एक एक विकेट लिए । आर्मीको पहिलो जित हो । जितसँगै उसले फाइनल खेल्ने पक्का भएको छ ।

फ्लोअनमा परेको मधेश आइतबार दोस्रो दिनको खेलमा १५० रनमा अलआउट हुँदा उसको अग्रता मात्र २७ रन मात्र थियो । आर्मीले पहिलो पारीमा २२५ रनमा ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो ।

त्यसपछि ब्याटिङ गरेको मधेश पहिलो पारीमा १०२ रन बनाउँदा अलआउट भयो र उसले फ्लोअन खेल्नुपरेको थियो । तर, मधेशका लागि ओपनर मयन यादवबाहेक अन्य ब्याटरले राम्रो खेल्न नसक्दा उसले २८ रनको सामान्य लक्ष्य दिएको हो ।

मधेशका लागि दोस्रो पारीमा मयन यादवले ४९ रन बनाए भने कप्तान हरिशंकर साहले २५ रन बनाए । मयनले पहिलो पारीमा ११ रन बनाएका थिए ।

मधेशको ब्याटिङ ध्वस्त बनाउने क्रममा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने उनले पहिलो पारीमा एक विकेट लिएका थिए । यस्तै शाहाब आलमले पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ विकेट लिए ।

उता जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन पुलिस क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ । बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । पुलिसले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको हो ।

बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए ।

पुलिसका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित