१ कात्तिक, महोत्तरी। महोत्तरीमा श्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह छन्।
बुधबार दिउँसो जलेश्वर–साम्सी सडकखण्डको भोल्ही चोकबाट उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।
उनका अनुसार बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको नगद बरामद भएको हो।
पक्राउ परेका साह र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





