२९ असोज, डेस्क। दशैंपछि खुलेको सेयर बजार २६९९.६६ अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१.४८ अंक (१.१७ प्रतिशत) वृद्धि भएसँगै यो अंकमा कायम भएको हो।
तर, कारोबार रकम भने घटेको छ। दशैं विदाअघिको दिनमा ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबार ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भयो।
उत्पादन समूहबाहेक अन्य सबै क्षेत्रका सूचकमा सुधार आएको छ। उत्पादन समूह ०.२२ प्रतिशतले घटेको छ। फाइनान्स समूह सबैभन्दा बढी ४.६१ प्रतिशतले उकालो लागेको छ। बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, जलविद्युत ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य समूह १.२१ र व्यापार समूह १.७६ प्रतिशतले उचालेका छन्।
जानकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले उकालो लागेको छ। मल्टिपर्पस फाइनान्सको मूल्य ९.३२ प्रतिशत, समृद्धि फाइनान्सको ६.८४ प्रतिशत, सेन्ट्रल फाइनान्सको ६.३६ प्रतिशत, र आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशतले बढेको छ।
कारोबार रकमको आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छन्।






