राजनीतिक कार्यक्रममा प्रधानाध्यापकको सहभागितामाथि प्रश्न, कारबाहीको माग

|

मेवालाल यादव / रौतहट । निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक दल वा संगठनका गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न हुन नदिने कानुनी व्यवस्था भए पनि रौतहटको बौधीमाई नगरपालिका–८, सरमुज्वास्थित प्राथमिक विद्यालयका प्रधानाध्यापक दिनेश बैठाको राजनीतिक कार्यक्रममा सहभागितालाई लिएर प्रश्न उठेको छ।

नेपाली कांग्रेसको बौधीमाई नगरपालिका–८, सरमुज्वामा सम्पन्न वडा अधिवेशनका क्रममा प्रधानाध्यापक बैठा सहभागी भएको र कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरेको दाबी गरिएको छ। उक्त कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै वडा अध्यक्ष बिन्देश्वर राय यादव र कार्यपालिका सदस्य सुनिल जैसवालले सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रधानाध्यापक बैठाको सहभागिताको विषय सार्वजनिक भएको हो।

सार्वजनिक पदमा रहेका शिक्षक राजनीतिक दलको कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भएको विषय बाहिरिएपछि स्थानीयस्तरमा त्यसको आलोचना हुन थालेको छ। स्थानीयवासीले कर्मचारीको राजनीतिक संलग्नतामाथि छानबिन गरी सम्बन्धित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्न माग गरेका छन्।

यस विषयमा थप प्रश्न नगर प्रमुख प्रदीप कुमार राय यादव र नगर शिक्षा समितिका शिक्षाविद् बालदेव साहको सामाजिक सञ्जालमा आएको प्रतिक्रियालाई लिएर उठेको छ। वडा अध्यक्षको उक्त पोस्टमा नगर प्रमुख राय यादव तथा शिक्षाविद् साहले बधाई दिएको स्थानीयवासीको भनाइ छ। उनीहरूले राजनीतिक कार्यक्रममा कर्मचारीको सहभागिताको विषयमा छानबिन तथा नियमन हुनुपर्ने समयमा सार्वजनिक रूपमा बधाई दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

स्थानीयवासीका अनुसार सार्वजनिक पदधारण गरेका कर्मचारीले राजनीतिक दलको कार्यक्रममा सहभागी भई प्रमाणपत्र वितरण गर्ने कार्यले कर्मचारीको पदीय मर्यादा तथा राजनीतिक तटस्थतामाथि प्रश्न खडा गरेको छ।

“सार्वजनिक पदमा रहेको कर्मचारी राजनीतिक दलको कार्यक्रममा सहभागी भएर खुलेआम सम्मान तथा प्रमाणपत्र बाँड्दै हिँड्दा पनि नियमनकारी निकाय मौन बस्नु दुःखद् हो,” स्थानीयवासीको भनाइ उद्धृत गर्दै उनीहरूले प्रश्न गरेका छन्, “यस्ता गतिविधिमा संलग्न कर्मचारीलाई संरक्षण गर्ने कि कानुनअनुसार कारबाही गर्ने? जनताले न्याय र कारबाहीका लागि कसको ढोका ढकढक्याउने?”

प्रधानाध्यापक बैठाको राजनीतिक कार्यक्रममा सहभागिताको विषयमा सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने मागसमेत स्थानीयस्तरमा उठेको छ। बौधीमाई नगरपालिका–पिपरिया निवासी धिरेन्द्र यादवले प्रधानाध्यापक दिनेश बैठा तथा बौधीमाई नगर शिक्षा समितिका शिक्षाविद् बालदेव साहको भूमिकामाथि समेत छानबिन गरी कानुनअनुसार आवश्यक कारबाही गर्न नगर प्रमुख, संघीय सरकार तथा सम्बन्धित माथिल्लो निकायसमक्ष माग गरेका छन्।

यादवले कर्मचारीको राजनीतिक संलग्नता र त्यसलाई स्थानीय तहबाट दिइएको भनिएको सार्वजनिक समर्थनबारे निष्पक्ष छानबिन गरी दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

यद्यपि, प्रधानाध्यापक दिनेश बैठाले उक्त कार्यक्रममा सहभागी भएको विषयमा आफ्नो धारणा के हो, तथा नगर प्रमुख प्रदीप कुमार राय यादव र शिक्षाविद् बालदेव साहले सामाजिक सञ्जालमा गरेको प्रतिक्रियाको आशय के हो भन्ने सम्बन्धमा सम्बन्धित पक्षको थप प्रतिक्रिया सार्वजनिक रूपमा प्राप्त हुन बाँकी छ।

चर्चित समाचार


भर्खरै प्रकाशित