एमएल यादव/भारत ; इन्डियन जर्नलिस्ट एसोसिएसनको नवौँ अन्तर्राष्ट्रिय सम्मान कार्यक्रम भारतको महाराष्ट्रस्थित जालना, मातोश्री लान्सको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका दुई वरिष्ठ पत्रकार—विशेष अतिथि इस्तयाक अहमद र आरोही टेलिभिजनका सञ्चालक तथा सम्पादक मेवालाल कुमार यादवलाई विशेष सम्मान प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि इस्तयाक अहमदले महाराष्ट्रको यस ऐतिहासिक भूमिमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गर्व र ठूलो जिम्मेवारी भएको बताउनुभयो। आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसी तथा जालना इन्डियन जर्नलिस्ट एसोसिएसन टिमलाई सफल आयोजनाका लागि बधाई दिँदै उहाँले भन्नुभयो:
“नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रहरूबीचको भौगोलिक सीमामा मात्र सीमित छैन। यो जन–जन, परिवार–परिवार, संस्कृति र इतिहासबीचको गहिरो सम्बन्धको प्रतीक हो। खुला सीमा, साझा सांस्कृतिक विरासत र सामाजिक परम्पराले दुवै देशलाई जोडेको छ।”
उहाँले थप स्पष्ट पार्दै भन्नुभयो कि वर्तमान डिजिटल युगमा फेक न्युज, अफवाह र सनसनीपूर्ण प्रस्तुतिका कारण सामान्य विषयले पनि कूटनीतिक विवादको रूप लिन सक्ने भएकाले दुवै देशका पत्रकारहरूले स्वतन्त्र र पूर्ण रूपमा उत्तरदायी भएर तथ्यपरक पत्रकारिता गर्नुपर्छ।
त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं आरोही टेलिभिजनका सञ्चालक तथा सम्पादक मेवालाल कुमार यादवले सम्बोधन गर्दै पत्रकारितालाई कुनै सरकार वा राजनीतिक शक्तिको साधन नबनाई जनता र सत्यप्रति उत्तरदायी माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल भारतसँग मैत्रीपूर्ण सम्बन्धको पक्षधर रहेको र यो मित्रता समानता, सार्वभौमसत्ता र पारस्परिक सम्मानका आधारमा मात्र बलियो हुने उहाँले बताउनुभयो। भारतको मिडियाले नेपाललाई केवल सानो छिमेकीका रूपमा नहेरी स्वतन्त्र पहिचान र राष्ट्रिय आकाङ्क्षा भएको सार्वभौम राष्ट्रका रूपमा हेर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभयो।दुवै देशका पत्रकारहरूबीच नियमित संवाद, संयुक्त रिपोर्टिङ, पत्रकार आदान-प्रदान कार्यक्रम र तथ्य-जाँच (Fact-checking) मा सहकार्य हुनुपर्ने उहाँको जोड थियो। नेपालमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नहुनु, समयमा पारिश्रमिक नपाउनु, परम्परागत मिडिया सङ्कटमा पर्नु र मोफसल (जिल्ला) मा काम गर्ने खोजमूलक पत्रकारहरूले स्थानीय दबाब र धम्कीको सामना गर्नुपर्ने जस्ता जटिल समस्याहरू यादवले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुभयो।नेपाल र भारतका सीमावर्ती क्षेत्रमा काम गर्ने पत्रकारहरूका समस्या समान रहेकाले इन्डियन जर्नलिस्ट एसोसिएसन र नेपाली पत्रकार सङ्गठनहरूबीच संयुक्त तालिम, क्षमता अभिवृद्धि र भौतिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको यादवले बताउनुभयो।
यादवले आफ्नो मन्तव्यको अन्त्यमा जोड दिँदै भन्नुभयो— “हामीले यस्तो पत्रकारिताको सङ्कल्प गर्नुपर्छ, जसले सीमा होइन सेतु बनाओस्; दूरी होइन संवाद स्थापित गरोस्; भ्रम होइन सत्यलाई अगाडि ल्याओस् र तनाव होइन आपसी समझदारीलाई बढावा दिओस्।”
उक्त भव्य कार्यक्रममा इन्डियन जर्नलिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैसी, वरिष्ठ पत्रकार अशोक मानडवे, जालना टिमका सम्पूर्ण सदस्यहरूका साथै भारत र विभिन्न देशका सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो।





