हेलो सरकारलाई एकीकृत सेवा प्रणालीमा स्तरोन्नति गरिँदै, नागरिकका गुनासा सोझै सम्बोधन हुने

|

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई अझ छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।

त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए। बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र इमेलजस्ता माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उनले बताए।

यस व्यवस्थापछि गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमार्फत गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन्। सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ।

प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए। सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा अनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ।

सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोको कल पुनः हेलो सरकारमै फर्कने व्यवस्था प्रस्ताव गरिएको छ, जसबाट नागरिकले एउटै विषयमा पटक-पटक विभिन्न कार्यालयमा धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

नयाँ योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण र अवस्था प्रणालीमै देखिनेछ भने एउटै व्यक्तिले एउटै विषयमा पटक-पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गरिनेछ।

हालै तयार पारिएको ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ले संघ, प्रदेश र स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने प्रस्ताव गरेको छ।

जसअनुसार गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्नेछ। गुनासो समाधान भइसकेपछि प्रणालीमार्फत सोको जानकारी नागरिककहाँ पुग्नेछ र समस्या समाधान भएको विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फछ्र्यौट गरिनेछ।

यी सुधार कार्यान्वयनमा आएपछि हेलो सरकार नागरिकका गुनासो व्यवस्थापनका सबै चरणमा प्रभावकारी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको यथार्थ अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार दिने र सुशासनको दिशानिर्देश गर्ने माध्यम बन्नेछ।

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन्। आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकोमा आव २०८२/८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन्, अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन्।

वर्तमान सरकार गठन भएपछि सरकारप्रतिको विश्वास र अपेक्षा बढेकाले उल्लेख्य रूपमा गुनासो बढेको उपसचिव सापकोटाको भनाइ छ। पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा हेलो सरकारमा कुल एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएकोमा आव २०८२/८३ मा प्राप्त ६९ हजार ७२४ गुनासा पाँच वर्षको कुल सङ्ख्याको करिब ५६ प्रतिशत हुन्। आव २०७८/७९ देखि २०८१/८२ सम्मका चार वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए।

यसैगरी हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन्। सो अवधिमा प्राप्त कुल ५० हजार ७२१ गुनासामध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ।

प्राप्त गुनासामध्ये १८ हजार ५४२ फछ्र्यौट गरिएका छन् भने ५४७ गुनासा नहेरिएको अवस्थामा छन्। त्यस्तै एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका वा नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन्।

हेलो सरकारको टोल-फ्री सेवामार्फत ५० हजार १९६ वटा फोन कल प्राप्त भएकोमा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको छ। चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६१० वटा गुनासा प्राप्त भएकोमा छ हजार ६०१ वटा फछ्र्यौट भइसकेका छन्।

सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप र इमेलबाट प्राप्त गुनासाको सङ्ख्या भने यस विवरणमा समावेश गरिएको छैन।

चर्चित समाचार


भर्खरै प्रकाशित