काठमाडौं। सांसद अमरेशकुमार सिंहले तराई-मधेशमा भएका पछिल्ला हिंसात्मक घटनाहरूतर्फ संसद्को ध्यानाकर्षण गराउँदै राज्यले समस्या समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्ला घटनाहरूमा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।
संसद्मा बोल्दै उनले घटनास्थलमै मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा ज्यान गुमाएका जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिराहाका गणेश यादवको निधनप्रति गम्भीर दुःख व्यक्त गरे।
देशको वर्तमान आवश्यकता सामाजिक सद्भाव कायम गर्नुका साथै गरिबी, पछौटेपन र असमानताविरुद्ध जुध्नु रहेको उल्लेख गर्दै उनले समुदाय-समुदायबीच द्वन्द्व सिर्जना गर्ने समय यो नभएकाले सबै पक्षलाई संयमित हुन अपिल गरे। सर्वदलीय बैठक र प्रधानमन्त्रीको सम्बोधन सकारात्मक कदम भए पनि यस्ता पहल अझ अगाडि नै हुनुपर्ने उनको भनाइ थियो।
सांसद सिंहले मधेशमा हुने आन्दोलन र प्रदर्शनका क्रममा राज्यले गर्ने अत्यधिक बल प्रयोगको शैलीमाथि कडा प्रश्न उठाए। सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणका लागि लाठीचार्ज र अश्रुग्यासलगायतका वैकल्पिक उपायहरू अपनाउनुको साटो सिधै गोली चलाउने परिपाटी अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
नेपालमा सुरक्षा निकायलाई दिइने भीड नियन्त्रणसम्बन्धी तालिम र अभ्यासमा व्यापक सुधार आवश्यक रहेको औँल्याउँदै उनले मधेशमा सुरक्षा निकायप्रति जनविश्वासको वातावरण बनाउन सरकारसँग आग्रह गरे।
राज्यले मधेशमा सुरक्षाकर्मी परिचालन गर्न देखाउने तत्परता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा भने नदेखाएको भन्दै उनले असन्तुष्टि जनाए। हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाउने सरकारले शिक्षक, चिकित्सक र इन्जिनियर पठाउन भने ध्यान नदिएको उनको आरोप थियो।
मधेशलाई सधैँ पछाडि पार्ने र समस्या उत्पन्न भएपछि बल प्रयोग गरेर दबाउन खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै उनले अब मधेशले थप विभेद सहन नसक्ने चेतावनी दिए।





