गौर, रौतहट/ मेवालाल यादव । साउन महिनाको पहिलो सोमबारीको पावन अवसरमा रौतहटको गौर नगरपालिका–२ स्थित प्रसिद्ध बाबा बानेश्वरनाथ मन्दिर परिसरमा आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गौर नगरपालिकाका युवा समाजसेवी तथा सामाजिक अभियन्ता देवेन्द्र प्रसाद अधिकारी (देवी दादा) ले गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै देवेन्द्र प्रसाद अधिकारीले भगवान शिवप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए। यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा आपसी सद्भाव, सामाजिक एकता र धार्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
पहिलो सोमबारीका अवसरमा बिहानैदेखि बाबा बानेश्वरनाथ मन्दिरमा जलाभिषेक, पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेखनीय भीड लागेको थियो। मन्दिर परिसर भक्तिमय वातावरणले भरिएको थियो भने आयोजित सांस्कृतिक कार्यक्रमले धार्मिक उत्सवलाई थप आकर्षक र उल्लासपूर्ण बनाएको स्थानीयवासीले बताएका छन्।
उद्घाटन समारोहमा मेला अध्यक्ष पनिलाल सहनी, पूर्व वडा अध्यक्ष रामजी यादव, मनोज सिंह, सुरक्षाकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुक तथा ठूलो संख्यामा उपस्थित भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





