पार्टीको अनुशासन र सिद्धान्तमाथि प्रश्न उठाउँदै गंगा पासमानको चेतावनी, ‘विधानविपरीत निर्णय भए जिम्मेवारीमा बस्दिनँ’

|

साउन ०६, सिरहा । कर्जन्हा नगरपालिकाका पूर्व मेयर तथा नेपाली कम्युनिष्ट पार्टी का मधेश प्रदेश कमिटी सदस्य गंगा पासमानले पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता र विधानविपरीत निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा उनले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय तथा जनअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वर्तमान अवस्थामा पार्टीलाई थप जनमुखी, अनुशासित र सिद्धान्तनिष्ठ बनाउन व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

पासमानले पार्टीभित्र व्यक्तिगत स्वार्थ, अवसरवाद, गुटबन्दी तथा अनुशासनहीन प्रवृत्तिले संगठन कमजोर बन्दै गएको उल्लेख गर्दै विधि, विधान र पार्टी अनुशासन सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखेका छन्। पार्टीको हितमा काम गर्ने इमानदार कार्यकर्तालाई सम्मान र जिम्मेवारी दिनुपर्ने तथा पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि विधानअनुसार निष्पक्ष कारबाही हुनुपर्ने उनको माग छ।

उनले विशेषगरी सिरहा जिल्लामा पार्टी कमजोर बन्दै गएको विषयमा नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । कर्जन्हा नगरपालिकाको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक मेयर उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जोगी राउत तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएका शक्ति लामालाई मधेश प्रदेश कमिटीमा समावेश गर्ने प्रयास भइरहेको भन्ने जानकारीले इमानदार कार्यकर्तामा निराशा बढेको उनको दाबी छ ।

विज्ञप्तिमा जिल्ला तहका केही नेतृत्वले यस्ता व्यक्तिलाई संरक्षण गरेको तथा गरिब, दलित र कमजोर वर्गमाथि विभेदपूर्ण व्यवहार भएको आरोपसमेत लगाइएको छ । पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिलाई जिम्मेवारी दिइने निर्णयले संगठनको विधि, विधान र अनुशासनमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

पासमानले पार्टी नेतृत्वलाई निष्पक्ष छानबिन गरी संगठनात्मक मूल्य, विधि र अनुशासनलाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरेका छन । उनले पार्टी बलियो बनाउने निर्णय हुनुपर्नेमा जोड दिँदै हजारौं शहीदहरूको बलिदानको सम्मान पनि त्यसैबाट हुने बताएका छन् ।

विज्ञप्तिको अन्त्यमा उनले स्पष्ट चेतावनी दिँदै भनेका छन् कि यदि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका वा पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई थप जिम्मेवारी प्रदान गरियो भने आफू सिद्धान्त, नीति र संगठनात्मक मर्यादाप्रति प्रतिबद्ध रहँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्न बाध्य हुनेछन् ।

गंगा पासमान हाल नेपाली कम्युनिष्ट पार्टीका मधेश प्रदेश कमिटी सदस्य तथा कर्जन्हा नगरपालिकाका पूर्व मेयर हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित