असार २६, जनकपुर / मेवालाल यादव। नेपाली चलचित्र ‘चिरञ्जिवी भवः’ मा अभिनय गरेकी कलाकार काजल कर्णले फिल्मको सुटिङ सेटमा आफूलाई मधेशी भएकै कारण अपमान, विभेद र मानसिक दुर्व्यवहार गरिएको गम्भीर आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा कर्णले नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारप्रति रहेको विभेदपूर्ण व्यवहारको अनुभव सार्वजनिक गरेकी हुन्। उनले सेटमा आफूलाई पटक–पटक ‘मधेसी’ भनेर होच्याइएको, अपमानजनक टिप्पणी गरिएको तथा कलाकारको हैसियतमा सम्मानजनक व्यवहार नगरिएको दाबी गरेकी छन्।
कर्णका अनुसार फिल्ममा अनुबन्धित भएपछि डिजाइनर, प्रोडक्सन टिम तथा केही प्राविधिक कर्मचारीबाट असहयोगपूर्ण व्यवहार गरिएको थियो। उनले सुटिङका क्रममा आफ्नै खर्चमा लोकेसन पुग्नुपरेको, मेकअप र पोशाक व्यवस्थापनमा समस्या भोग्नुपरेको तथा मुख्य कलाकार सरह व्यवहार नपाएको उल्लेख गरेकी छन्।
उनले मेकअपका क्रममा आफ्नो छालाको रङलाई लिएर अपमानजनक टिप्पणी गरिएको, आफूलाई गाउँघरको काम गर्ने पात्रका रूपमा जबर्जस्ती प्रस्तुत गरिएको तथा मधेशी समुदायप्रति होच्याउने अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाएकी छन्। साथै, स्क्रिप्टमा नभएका दृश्यमा फोहोर उठाउने र सरसफाइ गर्ने काम गराउन बाध्य पारिएको समेत उनको दाबी छ।
कर्णले बाँकी पारिश्रमिक माग्दा समेत उचित जवाफ नपाएको र पछि कुनै पूर्वसूचना नदिई आफ्नो भूमिकामा अर्कै कलाकार राखिएको आरोप लगाएकी छन्।
उनले यस घटनालाई व्यक्तिगत अपमान मात्र नभई नेपाली चलचित्र क्षेत्रमा मधेशी कलाकारले भोग्नुपर्ने विभेदको प्रतिनिधि उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्।





