असार १८, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी कानुनी कारबाहीको माग गर्दै गृह मन्त्रालयमा निवेदन परेको छ।
मधेश प्रदेशको जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको प्रादेशिक अस्पतालसँग सम्बन्धित कथित अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी आवश्यक कानुनी कारबाहीको गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता गरिएको हो।
उक्त निवेदनमा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रेक्टर डा. राम नरेश पण्डित, रजिस्ट्रार बिनोद कुमार यादव तथा डाइरेक्टर डा. जामुन प्रसाद सिंहले पदको दुरुपयोग गर्दै अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
निवेदनमा उनीहरूको व्यक्तिगत सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको दाबी गर्दै त्यस्तो सम्पत्ति तलब तथा भत्ताबाट मात्रै आर्जन हुन नसक्ने भएकाले त्यसको सत्यतथ्य छानबिन गर्न माग गरिएको उल्लेख छ।
निवेदकले विभिन्न शीर्षकमा अनियमितताबारे अनुसन्धान गर्न आग्रह गरेका छन्। निवेदनमा अस्पतालमा मापदण्डविपरीत अवैध संरचना (इलिगल स्ट्रक्चर) निर्माण गरिएको, साथै पुरानो प्रसूति गृह भवनमा पहिलेदेखि रहेको मार्बल तथा ग्रेनाइट नहटाई त्यसमाथि पुनः टायल्स जडान गरी राज्यको करोडौं रुपैयाँ दुरुपयोग गरिएको आरोप लगाइएको छ।
गृह मन्त्रालयमा निवेदन परेपछि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउँदै उक्त निवेदन मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाएको स्रोतले जनाएको छ।
मन्त्रालयले निवेदनमा उठाइएका विषयबारे आवश्यक छानबिन गरी जवाफ उपलब्ध गराउन पत्राचार गरेको बताइएको छ।





