असार ११, जलेश्वर । जलेश्वर नगरपालिकालाई क्षयरोग (टीबी) मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको निःशुल्क घुम्ती एक्स–रे (X-ray) शिविरको दोस्रो दिन आज वैशाख १० गते जलेश्वर–५ स्थित श्री माध्यमिक विद्यालय पर्सापतैली र जलेश्वर–४ स्थित सुगा स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको छ।
शिविरमा स्थानीय सर्वसाधारण विभिन्न समुदायका नागरिक तथा दैनिक ज्यालादारी मजदुरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निःशुल्क एक्स–रे परीक्षणमार्फत क्षयरोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारको पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
यस अवसरमा सम्बन्धित वडाका अध्यक्षले एक्स–रे परीक्षणको अवधि एक दिन मात्र भएकाले केही स्थानीय नागरिक परीक्षणबाट छुट्न सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा यस्ता घुम्ती स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिँदै सबै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो।
नगरपालिकाले क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।





