असार ०९, महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ करोड २ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिकाको १६औँ गाउँसभाको अवसरमा आयोजित खुला सत्रमा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
अध्यक्ष मण्डलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रोजगार प्रवर्द्धन र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। सीमित स्रोत र साधनका बाबजुद नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्दै समग्र गाउँपालिकाको विकासलाई तीव्रता दिने लक्ष्यसहित बजेट ल्याइएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले स्थानीय सरकार जनताप्रति उत्तरदायी, पारदर्शी र विकासमुखी हुनुपर्नेमा जोड दिँदै बजेटको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष लाभ पाउने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयले मात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने बताउनुभयो।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण कर्मचारी, सबै वडा अध्यक्ष तथा वडा सदस्य, नेपाल प्रहरीका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रस्तुत बजेट तथा नीति–कार्यक्रममाथि छलफलसमेत गरिएको थियो। सहभागीहरूले गाउँपालिकाको समग्र विकास, गुणस्तरीय सेवा प्रवाह र जनताको जीवनस्तर उकास्ने योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।
आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ३७ करोड २ लाख ५७ हजार रुपैयाँको बजेटले एकडारा गाउँपालिकामा विकास निर्माणका कामलाई थप गति दिने तथा स्थानीय नागरिकको आवश्यकता सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





