कमला–१ हटलेटवामा ‘स्वच्छ घर घोषणा समारोह’ सम्पन्न, समुदायमा सरसफाइ व्यवहारमा उल्लेखनीय सुधार

|

जेष्ठ २०, धनुषा / साजन कुमार। सशक्त बालिका परियोजना अन्तर्गत धनुषाको कमला नगरपालिका–१ हटलेटवामा मंगलबार ‘स्वच्छ घर घोषणा समारोह’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा तथा प्लान इन्टरनेसनल र सपोर्ट नेपालको साझेदारीमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले यस्ता कार्यक्रमले समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

“यस्तो कार्यक्रम हाम्रो पालिकामा आउनु खुसीको कुरा हो। समुदायमा सरसफाइ र स्वच्छता प्रवर्द्धन गर्न योगदान पुर्‍याउने साझेदार संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु,” नगर प्रमुख यादवले भन्नुभयो।

कार्यक्रममा शौचालय भएका ६० परिवारलाई शौचालयमा प्रयोग हुने सामग्री तथा पानी फिल्टर वितरण गरिएको थियो। त्यसैगरी शौचालय नभएका परिवारलाई पनि पानी फिल्टर सहयोग गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी सबै परिवारलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

परियोजनाअन्तर्गत समुदायमा सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारमा उल्लेखनीय सुधार देखिएको तथ्याङ्क सार्वजनिक गरिएको छ। लक्षित ५० घरधुरीमध्ये हाल ७९ घरधुरी कायम रहेका छन्। शौचालय भएका घरधुरीको संख्या ५७ बाट बढेर ६३ पुगेको छ भने शौचालय नभएका घरधुरी २३ बाट घटेर १६ मा झरेका छन्।

त्यसैगरी शौचालय प्रयोगका लागि छुट्टै चप्पल प्रयोग गर्ने घरधुरी १२ बाट बढेर ५६ पुगेका छन्। सफा शौचालय भएका घरधुरीको संख्या ४८ बाट बढेर ६३ पुगेको देखिएको छ।

दुई वर्षमुनिका बालबालिकाको दिसा व्यवस्थापनमा समेत सुधार देखिएको छ। शौचालयमार्फत बालबालिकाको दिसा व्यवस्थापन गर्ने घरधुरी १३ बाट बढेर ३४ पुगेका छन्। यद्यपि खुला स्थानमा फाल्ने अभ्यास अझै चुनौतीका रूपमा रहेको जनाइएको छ।

गाईवस्तुको दिसा तथा जैविक फोहोर व्यवस्थापनमा पनि सकारात्मक परिवर्तन आएको छ। मलखाल्डोमा फोहोर व्यवस्थापन गर्ने घरधुरी संख्या १२ बाट बढेर २९ पुगेको छ।

सुरक्षित खानेपानीको प्रयोगप्रति समुदायको चेतना बढ्दै गएको आयोजकले जनाएको छ। पहिले अधिकांश घरधुरीले ट्युबवेलको पानी सिधै प्रयोग गर्ने गरेकामा अहिले केही परिवारले पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालेका छन्।

हात धुने बानी तथा व्यक्तिगत सरसफाइमा सबैभन्दा ठूलो उपलब्धि हासिल भएको तथ्याङ्कले देखाएको छ। हात धुने छुट्टै स्थान भएका घरधुरीको संख्या २ बाट बढेर ७९ पुगेको छ।

त्यसैगरी सफा घर–आँगन भएका घरधुरी ५५ बाट बढेर ७६ पुगेका छन् भने खाना छोपेर राख्ने घरधुरी ७५ बाट बढेर ७७ पुगेका छन्।

कार्यक्रममा समुदायमा प्राप्त प्रमुख उपलब्धिहरूमध्ये शौचालय पहुँचमा वृद्धि, हात धुने सुविधाको विस्तार, बालबालिकाको दिसा व्यवस्थापनमा सुधार, गाईवस्तुको फोहोर व्यवस्थापन, सुरक्षित खानेपानी प्रयोगप्रति बढ्दो सचेतना तथा घर आँगन सरसफाइमा उल्लेखनीय प्रगतिलाई विशेष रूपमा उल्लेख गरिएको थियो।

“स्वच्छ घर, स्वस्थ परिवार, समृद्ध समुदाय” भन्ने नारासहित सञ्चालन गरिएको परियोजनाले समुदायमा स्वच्छ, स्वस्थ र मर्यादित जीवनशैलीको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको निष्कर्ष रहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित