बेंगलुरुको शानदार जित

|

वैशाख ११ , डेस्क। विराट कोहली र देवदत्त पडिक्कलको शानदार ब्याटिङ मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ ।

शुक्रबार राति घरेलु मैदान चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०६ रनको लक्ष्य बेंगलुरुले ७ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाएर आउट भए । पडिक्कलले २७ बलमा २ चौका र ६ छक्कासहित ५५ रन बनाएर आउट भए ।

ओपनर ज्याकब बेथेल १४ रनमा आउट हुँदा २४-१ मा रहेको आरसिबीका लागि कोहली र पडिक्कल मिलेर दोस्रो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए ।

१४१-१ को अवस्थाबाट १७३-५ को अवस्थामा पुगेपनि क्रुनाल पान्ड्याले अविजित २३ रन बनाएर आरसिबीलाई जित दिलाए । टिम डेभिड १० रनमा अविजित रहँदा जितेश शर्माले पनि १० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले साइ सुदर्शनको शतक मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

सुदर्शनले ५८ बलमा ११ चौका र ५ छक्कासहित १०० रन बनाए । कप्तान शुभमन गिलले ३२ रन तथा जस बट्लरले २५ रन बनाए । जेसन होल्डर २३ अनि वासिङटन सुन्दर १९ रनमा अविजित रहे ।

आरसिबीका लागि भुवनेश्वर कुमार, जोश हेजलवूड र सुयाश शर्माले १-१ विकेट लिए ।

यस जितसँगै ७ खेलमा १० अंक जोडेको आरसिबी दोस्रो स्थानमा उक्लिएको छ भने पराजित गुजरात ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित