चैत्र ०४,सप्तरी / चन्दन रजक। सप्तरी जिल्लाको राजविराज नगरपालिका–११ स्थित झल्ही टोलमा बुधबार साँझ करिब ७:३० बजे अचानक आगलागी हुँदा एक जनाको परालमा क्षति पुगेको छ।
आगलागी स्थानीय राधे यादवका छोरा विरेन्द्र यादवको परालमा लागेको हो। आगोले परालको कुन्यु जलेर करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना श्री बरख गणबाट उप–सेनानी रञ्जित जी.सी.को नेतृत्वमा १७ जनाको टोली दमकलसहित तुरुन्तै घटनास्थलमा खटिएको थियो। सेनासँगै सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा आगो साँझ ८:१० बजेसम्म पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
समयमै आगो नियन्त्रणमा लिएकाले नजिकको बस्तीमा फैलिन सक्ने ठूलो जोखिम टरेको छ। स्थानीयवासीहरूले विपद्को समयमा नेपाली सेनाले देखाएको द्रुत प्रतिक्रिया, अनुशासन र सेवाभावको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले नागरिकको जीवन र सम्पत्तिको सुरक्षामा सेनाको भूमिका फेरि एकपटक उदाहरणीय बनेको बताएका छन्।






