फागुन ०३, सप्तरी। महाशिवरात्रि तथा २६३औं सेना दिवस २०८२ को अवसर पारेर नेपाली सेनाले सप्तरीका विभिन्न स्थानमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली सेना अन्तर्गत बरख गण ले आफ्नै ब्यारेक हाताभित्र रहेको खाली जग्गामा फलफूल तथा अन्य विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रम आयोजना गरेको हो।
गणका अनुसार जिल्लामा रहेको आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गत स्थानीय समुदायसँग समन्वय गरी विभिन्न स्थानमा बृक्षरोपण गरिएको छ। साथै कारागार परिसर तथा राजविराजस्थित विमानस्थल क्षेत्रमा समेत बिरुवा रोपिएको जनाएको छ।
उक्त अवसरमा सबै स्थान समेटेर करिब एक हजार बिरुवा रोपिएको बरख गणले जानकारी दिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।






