माघ २२, सप्तरी। नेपाल पत्रकार महासंघ शाखा सप्तरीले सक्रिय सञ्चारकर्मीहरूसँग गर्दै आएको भेदभावको विरोधमा सञ्चारकर्मी रुपेश यादवले आज जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रम बहिष्कार गरेका छन्।
सप्तरीमा आयोजना हुने विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रममा सक्रिय रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्दै आएका सञ्चारकर्मीहरूलाई बेवास्ता गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरी र आयोजक संस्थाले पक्षपातपूर्ण व्यवहार गर्दै आएको यादवको आरोप छ।
उनले यस्तो त्रुटिपूर्ण व्यवहारको विरोधस्वरूप आजको कार्यक्रम बहिष्कार गरी पत्रकारहरूको हक–हित र सम्मानका लागि आवाज उठाएको बताएका छन्।
यादवका अनुसार जिल्लामा हुने अधिकांश कार्यक्रममा महासंघ र आयोजकले आफ्ना निकटका समिति सदस्यहरूलाई मात्र सहभागी गराउने र सक्रिय सञ्चारकर्मीलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको छ, जुन पत्रकारिता मूल्य–मान्यताविपरीत रहेको उनले बताए।
उनले भविष्यमा पनि यस्ता भेदभावपूर्ण गतिविधि सच्याइएन भने नेपाल पत्रकार महासंघ शाखा सप्तरी र सम्बन्धित आयोजकविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको उपस्थिति रहेको थियो।






