सप्तरीमा घुस काण्ड उजागर गर्न खोज्दा पत्रकारमाथि प्रहरी दमन

|

माघ १८, सप्तरी / चन्दन रजक। सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिकै नेपाल प्रहरीले घुस लिँदै गरेको दृश्य क्यामेरामा कैद गर्न खोज्दा एक जना पत्रकारमाथि दमन गरिएको गम्भीर घटना सार्वजनिक भएको छ। आज दिउँसो भन्सार क्षेत्रमा खटिएका प्रहरीले पत्रकारलाई दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको जनाइएको छ।

भारतीय बजार कुनौली बोर्डरबाट चोरीपैठारी गरी ल्याइएका मालसामानसँग सम्बन्धित घुस लेनदेनको दृश्य खिचिरहेका नयाँ पत्रिकाका सप्तरी संवाददाता सौरभ यादवलाई सहायक हवलदार देवेन्द्र यादवले आक्रोशित हुँदै दाहिने हात समातेर करिब २०० मिटर टाढासम्म घिसार्दै प्रहरी नायब निरीक्षक (सई) प्रवेशसिंह राजपुत रहेको स्थानसम्म पुर्‍याएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

घटनापछि पत्रकार भएको थाहा पाएपछि प्रहरीले ‘नचिनेको’ बहाना बनाउँदै भुलचुक भएको स्वीकार गरेको र करिब १५ मिनेट नियन्त्रणमा राखेपछि उनलाई रिहा गरिएको बताइएको छ। तर पत्रकारमाथि भएको शारीरिक तथा मानसिक दुव्र्यवहारले गम्भीर प्रश्न उठाएको छ।

यस विषयमा सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटना सत्य प्रमाणित भए छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

यता पत्रकार सौरभ यादवले घुसखोरी जस्तो गम्भीर अपराधको पर्दाफास गर्न खोज्दा प्रहरीबाटै यस्तो व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको उल्लेख गर्दै दोषी प्रहरी माथि कडा कानुनी कारबाहीको माग गर्नुभएको छ।

घुस नियन्त्रण र सुशासनको कुरा गर्ने राज्य संयन्त्रभित्रै यस्तो घटना हुनु अत्यन्त निन्दनीय भएको भन्दै नागरिक समाज र सञ्चार क्षेत्रबाट समेत घटनाको निष्पक्ष छानबिनको माग बढ्दै गएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित