माघ १२, राजविराज / चन्दन रजक । ७४औँ भन्सार दिवसको अवसरमा राजविराज भन्सार कार्यालयले A Eight Distribution Pvt. Ltd. र ओम ट्रेडर्स लाई आर्थिक वर्षको उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ।
भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा दुबै व्यवसायिक प्रतिष्ठानलाई प्रशंसा पत्र प्रदान गरिएको हो। तर सोही कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूले राजविराज भन्सार कार्यालयले पछिल्लो करिब एक दशकयता अपेक्षित रूपमा राजस्व वृद्धि गर्न नसकेको, राजस्व चुहावट रोक्न असफल भएको तथा अवैध कारोबार नियन्त्रणमा कमजोरी देखाएको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले भन्सार कार्यालयले पारदर्शी रूपमा काम नगरेको, भन्सारसम्बन्धी सचेतना तथा सरोकारवालाबीच आवश्यक समन्वयको अभाव हुँदा स्थानीय स्तरमा अन्योलता सिर्जना भएको जनाएको छ। महासंघका अध्यक्ष श्रवण देवले भन्सार कार्यालयले सूचनाको पहुँच र पारदर्शितामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्थानीयस्तरबाट उठाइएका भन्सार क्वारेन्टाइनसम्बन्धी विषयमा माथिल्लो निकायसँग समन्वय गरी पत्राचार गरिसकेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालय राजविराजका प्रमुख मनोज कुमार सुनुवारले भन्सार कार्यालयको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि राजनीतिक तहबाट समेत चासो दिनुपर्ने धारणा राख्नुभयो।
राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र चौरसियाका अनुसार कार्यालयले मासिक रूपमा निर्धारण गरिएको लक्ष्यको करिब ८८ प्रतिशत राजस्व संकलन गर्दै आएको छ। उहाँले सबै सरोकारवालाको सहयोग भएमा राजस्व वृद्धि गर्न र चोरी पैठारी नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमले उपलब्धि र चुनौती दुवैलाई उजागर गरेको सहभागीहरूको भनाइ थियो।






