नेपाल–भारत सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण क्रिकेट, नेपाल विजयी

|

माघ ०४, महोत्तरी / मो. इर्शाद । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण महोत्तरीको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयी भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरामा आज दिउँसो १ बजेबाट सुरु भएको खेलमा टस जितेको भारतीय सशस्त्र सीमा बलले नेपाली टोलीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

१६ ओभरको खेलमा नेपाल सशस्त्र प्रहरी बलको टोलीले निर्धारित ओभरमा १५६ रन बनाउन सफल भयो । १५७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतीय सशस्त्र सीमा बलको टोलीले १४ ओभरमै सबै विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो । यससँगै नेपाल सशस्त्र प्रहरी बलले ६८ रनको शानदार जित हात पार्‍यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्दन राउतले ब्याटिङतर्फ ४३ रन तथा बलिङतर्फ २ विकेट लिएर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

विजयी नेपाली सशस्त्र प्रहरी टोलीलाई महोत्तरीका एसपी शेरबहादुर अधिकारी र भारतको सिमामढीका एसपी संजीव कुमार सिंहले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

यस अवसरमा खेललाई कमेन्ट्रीमार्फत रोमान्चक बनाएका आरजे इर्सादलाई समेत सम्मान गरिएको थियो । नेपाल–भारत दुवै देशका सशस्त्र प्रहरीबीच भएको मैत्रीपूर्ण खेलमा आपसी सद्भाव, मित्रता र सहकार्यको सन्देश दिँदै एक–अर्कालाई मायाको चिनो आदान–प्रदान गरी प्रतियोगिताको समापन गरिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित