माघ ०१, सप्तरी / चन्दन रजक। राजविराज नगरपालिका वडा नम्बर ११ मा अवस्थित डिहवार बाबा मन्दिरको नवनिर्माण सम्पन्न भएसँगै यो मन्दिर सप्तरी जिल्लाकै नमुना धार्मिक संरचनाको रूपमा स्थापित हुँदै गएको छ। परम्परागत आस्था, आधुनिक संरचना र स्थानीय पहिचानलाई एकसाथ झल्काउने गरी निर्माण गरिएको यस मन्दिरले धार्मिक पर्यटन र सामाजिक एकताको सन्देश दिएको छ।
जनमत पार्टीबाट सोही वडामा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार सचिदानन्द यादवको निरन्तर पहल, समन्वय र प्रतिबद्धताका कारण यस्तो व्यवस्थित र आकर्षक मन्दिर निर्माण सम्भव भएको स्थानीयवासी बताउँछन्। स्थानीय युवाका अनुसार राजनीतिक इच्छाशक्ति र समुदायको सहयोग मिल्दा विकासका काम सम्भव हुने यस मन्दिरले प्रमाणित गरेको छ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादव तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको दीर्घकालीन सोच, अठोट र विकासप्रतिको प्रतिबद्धताले धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचनाको संरक्षण र प्रवर्द्धनमा टेवा पुगेको स्थानीयको बुझाइ छ।
उनीहरूको प्रयासकै परिणामस्वरूप जनआस्थासँग जोडिएको डिहवार बाबा मन्दिर आज नमुना संरचनाका रूपमा उभिएको छ।
स्थानीय तहमा भएका यस्ता ठोस र दिगो निर्माण कार्यहरूले सप्तरी जिल्लामा विकास सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
धार्मिक स्थलको संरक्षणसँगै स्थानीय पहिचान, सामाजिक सद्भाव र विकासलाई जोड्ने यस्ता कार्यहरू अन्य वडाका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।
डिहवार बाबा मन्दिर केवल एक धार्मिक संरचना मात्र नभई, सहकार्य, प्रतिबद्धता र सही नेतृत्व भएमा स्थानीयस्तरमै परिवर्तन सम्भव छ भन्ने सशक्त उदाहरणका रूपमा आज देखिएको छ।






