सुनसरीमा सशस्त्रले मध्यरात गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

|

पुस १७ , डेस्क। सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए ।

साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् ।

साहले आफ्नै सिटी सफारीमा ८-१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम गरिरहेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहसँग दोहोर गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरे ।

यता, स्थानीय बासिन्दाले भने यो दाबीलाई अस्वीकार गरेका छन् । मृतक साहले सामान्य रुपमा सिटी सफारीमा चिनी ओसारिरहेको र सशस्त्र प्रहरीसँग ‘लेनदेन’ को विषयमा विवाद हुँदा गोली हानिएको उनीहरूको आरोप छ । सामान्य विवादमै मान्छे मार्ने काम भएको भन्दै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित