पुष १२, महोत्तरी / साजन कुमार। रामगोपालपुर–०९ गोठबनौलीस्थित श्री दोरिक जनता माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे, दुई तले पक्की भवन उद्घाटन गरिएको छ । शुक्रवार नवनिर्मित भवनको मधेश प्रदेश सभाका सभामुख रामआशिस यादवले उद्घाटन गर्नुभएको हो । एक्सनएड अन्तराष्ट्रिय नेपाल तथा रतौली युवा क्लवको साझेदारी र रामगोपालपुर नगरपालिकाको समन्वयमा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तरगत ७३ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको सभामुख यादवले उद्घाटन गर्नुभएको हो ।
सभामुख यादवले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधारका हिसाबले सामुदायिक विद्यालय कमजोर देखिए पनि शिक्षाको गुणस्तर अब्बल रहेको स्पष्ट पार्नुभयो । उहाँले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई आग्रह गर्नुभयो । विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणा बारे जानकार हुन आवश्यक रहेको उनको भनाइ थियो । विद्यालय गएका आफ्ना बालबालिकाको पढाईको अवस्था, साथी–संगतका कुरामा ध्यान दिन सकेमात्र बालबालिका अव्बल हुन सक्ने भन्नुहुँदै सभामुख यादवले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताउनुभयो ।
रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले स्थानीय अधिकार कार्यक्रम मार्फत समुदायस्तरमा शिक्षा, बालअधिकार र पूर्वाधार विकासलाई जोड दिइँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यका साथ सामुदायिक विद्यालयमा भौतिक संरचना सुधारलाई प्राथमिकतामा राखिएको हो । “स्थानीय सरकार र समुदायको सक्रिय सहकार्य बिना यस्ता परियोजना सफल हुन सक्दैनन्,” उहाँले उल्लेख गर्नुभयो ।
नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै । सीमित स्रोत–साधनका बीच पनि स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यबाट विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न सकिने बताए। “नगर प्रमुख रामदुलार साहले भन्नुभयो । “यस विद्यालयमा निर्माण भएको नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर दिएको छ ।,”
कक्षा १० सम्मको अध्यापन हुने विद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभावका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय विद्यार्थी रहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको अभिभावक भेलामा प्रधानाध्यापक सत्यनारायण यादवले जानकारी दिनुभयो ।
उद्घाटन समारोह वडा नं. ०९ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नागेश्वर प्रसाद मण्डलको अध्यक्षता गरेका थिए भने , मधेस प्रदेशका सभामुख रामअशिष यादव प्रमुख अतिथि, विशिष्ट अतिथिहरूमा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख राम दुलार साह र प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरी, क्लबका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, भवन निर्माण समिति, कार्यक्रम संयोजक अविनाश कुमार महतो, परियोजना अधिकृत अभिषेक दुबे लगायत स्थानीय अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
भवनको शिलान्यास गत जेष्ठ ०५ गते नगरप्रमुख साह र क्लबका कार्यकारी निर्देशक चौधरीले गर्नुभएको थियो।






