पुष ०७, राजविराज। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारको ‘एक प्रादेशिक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नं. १२ र १३ लाई जोड्ने सिगियौन–खाँडो नदी हुलाकी सडक निर्माण कार्यको सोमबार शिलान्यास गर्नुभएको छ।
प्रदेश सरकारको लागत साझेदारीमा करिब १५ करोड ६८ लाख रुपैयाँभन्दा बढी बजेटमा निर्माण हुन लागेको उक्त सडकको ठेक्का डी एण्ड एस केभी जेभी, काठमाडौंले लिएको छ। पूर्वाधार विकास कार्यालय सप्तरीका अनुसार २०८२ असार २० गते सम्झौता भई २०८४ असार १९ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यालय प्रमुख कृष्णदेव झाले जानकारी दिँदै सडक वस्ती क्षेत्रमा ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइमा कालोपत्रे गरिने बताउनुभयो। उहाँका अनुसार पाँच किलोमिटर लामो उक्त सडक सप्तरी निर्वाचन क्षेत्र नं. २ (२) का लागि छनोट गरिएको योजना अन्तर्गत निर्माण हुन लागेको हो।
सडक निर्माणपछि स्थानीय आवागमन सहज हुने तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जयकान्त राउत, मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविण, पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झा लगायतको उपस्थिति रहेको थियो। साथै जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साह, प्रचार–प्रसार प्रमुख उपेन्द्र साह, जसपा नेपालका नेता लक्ष्मण यादव, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरू कार्यक्रममा सहभागी थिए।






