कार्तिक ०८, जनकपुरधाम / मेवालाल यादव। मधेश प्रदेशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा चिनिने जनकपुरधामलाई “सांस्कृतिक नगरी”का रूपमा स्थापित गर्ने उद्देश्यले प्रदेश सांसद तथा समाजसेवी राम आशिष यादवले पछिल्ला वर्षहरूमा निरन्तर र प्रभावकारी पहल अघि बढाएका छन्।
जनकपुरधामको धार्मिक, पर्यटकीय र सामाजिक पहिचानलाई सुदृढ बनाउने हेतुले सांसद यादवले गंगासागरमा “महागंगा आरती” कार्यक्रमको शुभारम्भ गरेका छन्, जसले शहरमा धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम सिर्जना गरेको छ। यस आरतीको माध्यमबाट न केवल धार्मिक श्रद्धा र भक्ति जगाउने कार्य भइरहेको छ, तर स्थानीय युवाहरूमा सांस्कृतिक गर्व, जिम्मेवारी र स्वाभिमान पनि जागृत भइरहेको छ।
सांसद यादवका अनुसार जनकपुरधाम केवल धार्मिक स्थल होइन, यो हाम्रो इतिहास, संस्कार र सभ्यताको प्रतीक हो। यसको संरक्षण र प्रवर्द्धन हाम्रो साझा दायित्व रहेको बताउनु भयो।
धार्मिक अभियानसँगै यादवले “क्लिन एण्ड ग्रिन जनकपुर अभियान” सञ्चालन गर्दै शहरको सफा–सुन्दर र हरित वातावरण निर्माणमा पनि उल्लेखनीय योगदान दिएका छन्। यस अभियानअन्तर्गत सडक सरसफाइ, वृक्षारोपण, र जनचेतनामूलक कार्यक्रमहरू मार्फत नागरिकलाई वातावरण संरक्षणप्रति सचेत गराइएको छ।
सामाजिक क्षेत्रमा पनि यादव सक्रिय छन्। उनले दलित र पिछडिएका समुदायका बालबालिकाहरूका लागि निःशुल्क ट्युशन कक्षा सञ्चालन, साथै विद्यालयका विद्यार्थीहरूलाई पठन–पाठन सामग्री, ब्याग र स्टेशनरी वितरण गर्दै शिक्षामा समान पहुँच सुनिश्चित गर्ने प्रयास गरेका छन्।
सांसद यादवको निरन्तर सामाजिक र सांस्कृतिक योगदानले जनकपुरधाममा सकारात्मक रुपान्तरण ल्याएको छ। सांस्कृतिक धरोहरको पुनर्जीवनदेखि वातावरणीय सुधार र सामाजिक सशक्तीकरणसम्म, उनका कार्यक्रमहरूले जनकपुरधामलाई साँच्चिकै “सांस्कृतिक, धार्मिक र आधुनिक शहर” बनाउने दिशातर्फ अघि बढाएको एक स्थानीयले बताएका छन ।
राम आशिष यादवजस्ता जनप्रतिनिधि र समाजसेवीको पहलले जनकपुरधामको पहिचान अझ उजिलो बनेको स्थानीयले आफ्नो प्रतिक्रिया दिएका हुन ।






