असोज २८, सप्तरी / चन्दन रजक। दीपावली नजिकिँदै गर्दा घर–घरमा सजावट र लक्ष्मीपूजाको तयारी तीव्र भइरहेका बेला हरियाली पर्यावरण अभियानी तथा वृक्ष महा मानवका रूपमा परिचित श्री सुरेश शर्माले महत्वपूर्ण जनचेतनामूलक सन्देश दिएका छन्।

उनीका अनुसार, प्रत्येक वर्ष दीपावलीको अवसरमा घर अगाडि राखिने केराको बोट ईश्वरको बास हुने भएकाले शुभ मानिन्छ, तर धेरैजसो मानिसहरूले त्यो बोटलाई फेदबाट काटेर ल्याउने गर्छन्, जसले वातावरणीय र धार्मिक दृष्टिले गलत सन्देश दिन्छ।
शर्मा भन्छन्, “घर अगाडि राखिने केराको बोटलाई सम्मान सहित राख्नु हाम्रै दायित्व हो। तर जब हामी त्यसलाई जरा काटेर ल्याउँछौं, त्यो बोट शोकाकुल अवस्थामा हुन्छ। यस्तो पीडामा रहेको बोटले कसरी धनकी देवी लक्ष्मीलाई आमन्त्रण गर्न सक्छ?”
उनले सबैलाई यस वर्षदेखि जरा सहितको केराको बोट ल्याउन र लक्ष्मीपूजाको भोलिपल्ट त्यसलाई रोपेर हरियालीको सन्देश फैलाउन आह्वान गरेका छन्।
शर्माले भनेका छन्, “केराको बोटमा ईश्वरको बास हुन्छ, त्यसैले त्यसलाई काटेर होइन, जरा सहित सम्मानपूर्वक रोपौं र पूजौं। यसरी गर्दा घरमा लक्ष्मीको आशीर्वाद त आउँछ नै, साथै वातावरण पनि सन्तुलित रहन्छ।”
उनको यो सन्देशले धार्मिक आस्था र पर्यावरण संरक्षण दुबैलाई जोड्ने काम गरेको छ।
जय हरियाली, जय वातावरण।






