असोज २७, सप्तरी /चन्दन रजक। सप्तरी प्रहरीले विभिन्न स्थानबाट चोरी भएका ४ वटा मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोटरसाइकल चोरीमा संलग्न समूहलाई नियन्त्रणमा लिइएको जनाएको हो।
प्रहरीका अनुसार गत असोज २० गते राति करिब ०४:३० बजे तिलाठी कोइलाडी गाउँपालिका–८ का ललन कुमार दासको घर अगाडिबाट चोरी भएको मोटरसाइकलसहित अनुसन्धानका क्रममा उक्त समूह पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न स्थानमा मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा जिल्ला समरी राजविराज–१५ का अनिल कुमार यादव, राज नारायण यादव, सचिन यादव, गजेन्द्र कुमार यादव, राजविराज–११ का अजय कुमार यादव, राजविराज–१० का शिवनन्दन यादव र उदयपुर बेलका–९ का गणेश बहादुर विश्वकर्मा रहेका छन्।
विभिन्न मोडलका ४ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोटरसाइकल र पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार चोरी नियन्त्रण र अपराध न्यूनीकरणका लागि जिल्लाभर निगरानी र सघन चेकजाँच अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ।







