असोज २७, सप्तरी / चन्दन रजक। श्याम्भुनाथ नगरपालिका–११ मा स्थानीय पत्रकार मनोज माझीमाथि वडा अध्यक्षकै नेतृत्वमा निर्घात कुटपिट गरिएको छ।
सूचना संकलनका क्रममा पुगेका पत्रकार माझीमाथि वडा अध्यक्ष सञ्जय शाहको नेतृत्वमा आएको समूहले आक्रमण गरी मोबाइलसमेत फुटाएको हो। जग्गासम्बन्धी विषयमा रिपोर्टिङ गर्न पुगेका माझीमाथि गरिएको यस्तो कुटपिट प्रेसमाथिको नाङ्गो आक्रमणको रूपमा लिइएको छ।

घटनापछि स्थानीय पत्रकारहरू र जनसमुदायले यसलाई लोकतन्त्रको चौथो अंगमाथिको ठाडो चुनौती भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
पीडित पत्रकार माझीले भनेका छन्, “जनताको आवाज बोल्दा प्रतिनिधिकै हातबाट मार खानुपर्ला भन्ने सोचेको थिइनँ।”
यस घटनाले श्याम्भुनाथ नगरकै जनप्रतिनिधिहरूको चरित्र र जिम्मेवारीप्रतिको गम्भीर प्रश्न उठाएको छ। पत्रकारमाथिको हिंसा कुनै व्यक्तिगत घटना होइन, यो अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।
पत्रकार महासंघ लगायत सम्बद्ध निकायहरूले तत्काल दोषीमाथि कारबाहीको माग गर्दै घटनाको छानबिन गर्न सरकारसँग जोडदार माग गरेका छन्।






