असोज १०,धनुषा / साजन कुमार । आगजनीबाट ध्वस्त भएको मुखियापट्टि मुसहरनिया गाउँपालिकाको ०२ नम्बर वडाबाट न्यूनतम सेवा प्रवाह समेत हुन नसकिरहेको बेलामा मुखियापट्टि मुसहरनियाका समाजसेवी धर्मेन्द्र यादवले १० थान कुर्सी दुई थान प्लास्टिकको टेबल सहयोग स्वरुप उपलब्ध गराएका छन् । शुक्रवार समाजसेवी तथा राजनीतिकर्मी यादवले वडा कार्यालयको सेवा प्रवाहलाई पुनः सुचारु गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री प्रदान गरेका हुन् ।
भाद्र २४ गते ‘जेन–जी युवा पुस्ता’ले गरेको शान्तिपूर्ण भनिएको आन्दोलनले उग्र रूप लिँदा मुखियापट्टि मुसहरनियाका विभिन्न सरकारी कार्यालयहरुमा आगजनी भएको थियो । सोही क्रममा वडा नम्बर ०२ को कार्यालयमा रहेको समान पनि जलेर नष्ट भएको थियो ।
सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडाकै स्थायी बासिन्दासमेत रहेका वरिष्ठ समाजसेवी यादवले व्यक्तिगत तर्फबाट सामग्री सहयोग गरेका हुन् । आफ्नो वडाका बासिन्दाले छिटोछरितो र सहज रूपमा सेवा पाएको हेर्ने आफ्नो चाहना रहेकोले सहयोग गरेको उनले बताए । समाजसेवी यादवलाई कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष नरेश प्रसादले धन्यबाद समेत व्यक्त गरेका थिए ।






