भदौ ०४,डेस्क। दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस गएराति बेलझुण्डीमा दुर्घटनामा परेको हो ।
तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालकसहित आठ जना सवार थिए ।
घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेका छन् ।
घाइतेहरुलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बस विद्युतको पोलमा ठोक्किदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालनमा आएको छ । दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






