जनकपुरधाम : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले चाडपर्वलाई उल्लासपूर्ण ढंगले मनाउनुका साथै वन संरक्षणलाई प्राथमिकतामा राख्दै विशेष अनुगमन तथा गस्ती बढाउने स्पष्ट निर्देशन दिनुभएको छ।
पर्वको समयमा धेरै कर्मचारीहरू बिदामा रहने भएकाले वनजन्य चोरी निकासी र अवैध गतिविधि बढ्ने आशंका रहन्छ। यसलाई नियन्त्रण गर्न मन्त्री यादवले स्थानीय समुदाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र सुरक्षाकर्मीबीच अझ मजबुत सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “वन हाम्रो साझा सम्पत्ति हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो। पर्वमा रमाइलो गर्दै पनि प्रकृतिप्रतिको कर्तव्य पूरा गर्नुपर्छ।”
प्रदेशभरका संवेदनशील वन क्षेत्रमा विशेष गस्ती टोली परिचालन गर्ने तयारी भइरहेको छ। यस कदमले वनजन्य चोरी निकासी नियन्त्रणमा मात्र होइन, जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
वन मन्त्रालयका अनुसार, पर्व तथा विशेष अवसरमै सचेत कदम चाल्दा दीर्घकालीन रूपमा वन अपराध नियन्त्रण र स्रोत संरक्षण सम्भव हुने देखिएको छ। यसले वन मन्त्रालयप्रति सर्वसाधारणको विश्वास बढाउने मात्र होइन, प्रदेशलाई हरियाली, सुरक्षित र दिगो विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ






