साउन २२, राजविराज – चन्दन रजक। मधेश प्रदेशको सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१, उत्तराहिनीमा निर्माण सम्पन्न वातावरण मैत्रिक पार्कको उद्घाटन गरिएको छ। वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको उक्त पार्कको उद्घाटन मधेश प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री मा. त्रिभुवन साहले गर्नुभएको हो।
सिरहा क्षेत्र नं. ४(क) अन्तर्गत पर्ने यो पार्क प्राकृतिक सौन्दर्यको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले निर्माण गरिएको हो।
उद्घाटन समारोहमा पूर्व मन्त्री साहले रिबन काट्नुका साथै बिरुवा रोपेर औपचारिक रुपमा उद्घाटन गर्नुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, उपसचिव अञ्जना कास्ट श्रेष्ठ, डिभिजन वन कार्यालय सिराहाका प्रमुख शैलेन्द्र मिश्र लगायत मन्त्रालयका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







