असार २६, जनकपुरधाम \ चन्दन रजक । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीभित्र सम्पूर्ण नेताकार्यकर्ताको योगदानको इमान्दार, पारदर्शी र वैज्ञानिक मूल्याङ्कन प्रणाली विकास गरिने घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमार्फत डा. राउतले राजनीतिक यात्रामा संघर्ष, आलोचना, असफलता र निराशालाई सामान्य प्रक्रिया ठानी पार्टीको लक्ष्यप्रति अटल रहन कार्यकर्तालाई आह्वान गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “जनमत पार्टी केवल राजनीतिक संगठन होइन, यो सामाजिक न्याय, समानता र जनताको पहिचान तथा अधिकारका लागि लड्ने सशक्त आन्दोलन हो।”
उहाँले कार्यकर्तालाई आन्दोलनको मेरुदण्डको रूपमा चित्रण गर्दै निस्वार्थ भावनाले समर्पित कार्यकर्ताहरू नै सामाजिक रूपान्तरणका अग्रदूत भएको उल्लेख गर्नुभयो। साथै, पार्टीको सन्देश जनजनमा पुर्याउने, अग्रपङ्क्तिमा उभिने र सधैं समर्पित रहने कार्यकर्ताको मूल्याङ्कन उपलब्धिमा मात्र नभई निरन्तरको प्रतिवद्धता, त्याग र अनुशासनका आधारमा वैज्ञानिक प्रणालीद्वारा गरिने स्पष्ट पार्नुभयो।
अपिलमा नेतृत्वप्रति देखिएको असन्तुष्टिको समेत सम्बोधन गरिएको छ। उहाँले लेख्नुभएको छ, “वर्तमान परिस्थितिमा केही हदसम्म निराशा र असन्तुष्टि हुनु स्वाभाविक हो, तर हाम्रो साझा उद्देश्यका लागि गरिएको त्याग, संघर्ष र बलिदान ती असन्तुष्टिभन्दा धेरै माथि छन्।”
डा. राउतले पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र गर्ने मधेश विरोधी तत्व र जासुसी गतिविधिमा संलग्न घुसपैठियाबाट सचेत रहन पनि आग्रह गर्नुभएको छ। उहाँले चेतावनी दिंदै भन्नुभएको छ, “डा. सीके राउतको लोकप्रियताबाट अतालिएर केही तत्व पार्टीलाई कमजोर पार्ने षड्यन्त्रमा लागिरहेका छन्, ती तत्वबाट सतर्क रहन जरुरी छ।”
अन्त्यमा, डा. राउतले जनमत पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै सबै नेताकार्यकर्तालाई दृढ आत्मबल, समर्पण, अनुशासन र एकताको भावनासाथ अझ ऊर्जावान भएर अघि बढ्न विशेष आग्रह गर्नुभएको छ।






