असार २१, काठमाडौं / चन्दन रजक। संघीय लोकतान्त्रिक मोर्चाका भातृ संगठनहरूमध्ये विद्यार्थी संगठनहरूको संयुक्त बैठक आज राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठक राष्ट्रिय विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष पंकज देवको अध्यक्षतामा बसेको थियो।
बैठकले संघीय लोकतान्त्रिक मोर्चाको भातृ संगठनको रूपमा संघीय लोकतान्त्रिक विद्यार्थी मोर्चा गठन गर्ने निर्णय गरेको छ। नयाँ मोर्चाको संरचना, कार्यविधि तथा कार्यक्रमहरू विद्यार्थी संगठनका अध्यक्षहरूको सहभागितामा बस्ने आगामी बैठकबाट टुंगो लगाइने सहमति भएको छ।
बैठकमा हालैको संघीय शिक्षा ऐनसम्बन्धी प्रस्तावमा समेत गम्भीर छलफल भएको थियो। सामुदायिक विद्यालयहरू गाभ्ने प्रस्ताव निशुल्क र सर्वसुलभ शिक्षाको संविधानसम्मत अवधारणाविपरीत रहेको निष्कर्ष निकाल्दै, यसले शिक्षा प्रणालीलाई झन् व्यवसायिकरण तर्फ धकेल्ने भन्दै आपत्ति जनाइएको छ। राहत कोटा लगायतका प्रावधानलाई राजनीतिक भर्ना केन्द्र बनाउने खतरा प्रति पनि बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ।
यसैगरी, हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजाको समीक्षा गर्दै, विशेषगरी मधेश प्रदेशमा आएको न्यूनतम नतिजाले गम्भीर चिन्ता व्यक्त गरिएको छ।
बैठकले माथिका सबै बुँदाहरू संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलका अध्यक्षहरूलाई जानकारी गराउने तथा सुझाव लिने निर्णयसमेत गरेको छ।
शिक्षा ऐनमा देखिएको कुरीति र विकृत मानसिकताका विषयमा शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ भने संघर्षका कार्यक्रम अर्को बैठकबाट तय गरिने जानकारी दिइएको छ।
बैठकमा राष्ट्रिय विद्यार्थी मञ्चका संयोजक पंकज देव, विद्यार्थी जनमत संघका संयोजक पोषण कुमार यादव, लोकतान्त्रिक विद्यार्थी संघका महासचिव सुमन यादव, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव प्रविन यादव लगायतका नेताहरूको सहभागिता रहेको थियो।





