पिपरा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

|

असार १५,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकामा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । जन्म देखि २ बर्षसम्मको बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि सो घोषणा गरिएको हो ।

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेका थिए ।

खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको स्वास्थ्य शाखा उपप्रमुख रंधिर यादवले बताउनुभयो । बालबालिकाहरूले पोलियो, दादुरा रुबेला, डिपीटी, जापानीज इन्सेफ्लाइटिस, रोटा भाइरस, निमोनिया टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।

पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले ‘पूर्णखोप पाउनु बालबालिकाहरुको नैसगिंक अधिकार हो’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो ।

कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष बन्दना पाण्डे, वडा अध्यक्ष, स्वास्थ्य कार्यालय महोत्तरीको खोप अधिकृत दिपेन्द्र राय र भोला पण्डित,पालिका भित्र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी,कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकालगायतको उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित