बाल अधिकारको संरक्षण र बालमैत्री स्थानीय शासनका लागि दुईदिने छलफल कार्यक्रम सम्पन्न

|

जेष्ठ ०३, महोत्तरी / साजन कुमार। महोत्तरीको पिपरा गाउँपालिकामा रतौली युवा क्लव (RYC) को आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित दुईदिने बाल अधिकारको संरक्षण र बालमैत्री स्थानीय शासन सम्बन्धिको कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम बालमैत्री स्थानीय शासन स्थापनाको अभियानलाई तीव्रता दिने उद्देश्यले सञ्चालन गरिएको थियो।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरूको सक्रिय सहभागीता रहेको थियो।

कार्यक्रमका बक्ताहरूले बालमैत्री पालिका निर्माणका लागि सबै पक्षको समान र साझा जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरे। स्थानीय तहका प्रतिनिधिहरूले बालमैत्री स्थानीय शासन हाम्रो प्राथमिकतामा रहेको उल्लेख गर्दै नीति, बजेट र कार्यक्रमहरूमा बालबालिकाको हित सुनिश्चित गर्ने प्रतिवद्धता जनाए।

RYC का प्रतिनिधि राजेश पाण्डेले शिक्षा बाल अधिकारको मूल आधार रहेको बताउँदै समुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न संरचनागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनले बालमैत्री वातावरण सिर्जना गर्नका लागि भौतिक पूर्वाधारदेखि पठनपाठनको शैलीमा सुधार गर्नुपर्ने बताए। उनले भने
“नीति र कार्यक्रमहरू व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए।”

स्वास्थ्य र पोषणसम्बन्धी विषयमा पनि गम्भीर छलफल भएको थियो। ६ महिनासम्म शिशुलाई अनिवार्य स्तनपान गराउने, पालिकाका विभिन्न भवनहरुमा स्तनपान कक्ष निर्माण गर्ने, स्वास्थ्य संस्थाबाट आइरन चक्कीको प्रयोग तथ्यांक संकलन, शुद्ध खानेपानीको पहुँच, शौचालय प्रयोगको स्थिति, गर्भवती महिलाको जाँच र परामर्श सेवा उपयोग, होम डेलिभरी विरुद्ध सचेतना, स्वास्थ्य संस्थामा डेलिभरी प्रवर्द्धन जस्ता विषयमा योजना बनाउनुपर्ने सुझावहरू प्रस्तुत भए।

विद्यालयलाई बालमैत्री बनाउन सरोकारवालाहरूले बृहत धारणा प्रस्तुत गरे। विद्यालयको भौतिक पूर्वाधार सुधार, कक्षा कोठा अपाङ्गमैत्री बनाउने, फोहोर व्यवस्थापन प्रणाली विकास, अतिरिक्त क्रियाकलापको व्यवस्था, प्याड उपलब्ध गराउने, प्राविधिक शिक्षा र ग्रीन गार्डेनको अभावजस्ता समस्या समाधान गर्नुपर्ने देखियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले बाल अधिकार, बाल संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक न्याय, र संस्थागत सहभागिता जस्ता विषयमा गहन छलफल गर्‍यो। सरोकारवालाहरूको साझा धारणा थियो – राज्यले दिने शिक्षा, नीति र सेवा बालबालिकाको व्यक्तिगत क्षमता, मानसिक तथा शारीरिक विकासमा केन्द्रित हुनुपर्नेछ।

कार्यक्रममा सबै सहभागीले बालमैत्री समाज निर्माण गर्नका लागि सरकार, समुदाय, विद्यालय, अभिभावक र स्वयं बालबालिकाको साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकाले।

कार्यक्रममा पालिका अध्यक्ष राम जानकी यादव, उप प्रमुख, सबै वार्डको अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित