बैशाख २०, काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले यसको रक्षा गर्नु संसदको पनि प्रमुख दायित्व भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दिवसका अवसरमा सभामुख घिमिरेले सञ्चारकर्मी, सञ्चार माध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रेस स्वतन्त्रता केवल पत्रकारको हक मात्र नभइ सुसूचित हुन पाउने जनताको हक पनि भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुनसक्ने उल्लेख गरेका छन् ।







