धनुषामा श्रीराम जन्मोत्सव मनाइँदै

|

चैत २४,डेस्क। श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठानबीच धनुषामा मनाइँदै छ । श्रीरामको जन्मदिनका अवसरमा धनुषाका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना गरिएका छन् ।

चैत शुक्ल नवमी श्रीरामको जन्म दिन मानिन्छ । श्रीराम त्रेता युगकालीन विदेह अर्थात् मिथिला नरेश शिरध्वज जनकका ज्वाइँ हुँदा सम्पूर्ण मिथिलावासी आफूलाई उनको ससुराली मान्दछन् । ‘श्रीराम हिन्दू परम्पराका आराध्यदेवका रूपमा पूजित त हुनुहुन्छ नै, उहाँसँग मिथिलाको विशिष्ट नाता छ’,

रामनवमी पर्वमा श्रीराम चरित्र वर्णन गरिँदै व्रत बसेर दशमी तिथि टेकेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिन मानिन्छ ।

हिन्दू परम्परामा भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा श्रीरामको परिभ्रमणका किस्सा (कथा)ले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ ।

श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरूको भनाइ छ । श्री रामनवमी पर्वका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित