नेपाल टेलिकमको एसईई अफर: परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड

|

चैत्र १४, डेस्क। नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर उपलब्ध गराउने भएको छ ।

टेलिकमका अनुसार यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफर उपभोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए ।

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने ९.८० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।

यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स (resource) सोही दिनका लागि मात्र कायम रहनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र (Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

साथै, सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी निर्देशन पालना गर्नुपर्नेछ ।

*१६००# डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बोल नम्बर (अल्फाबेटबाहेक) टाइप गरी सेन्ड गर्नुपर्ने र जन्ममिति पनि टाइप गरी सेन्ड गर्नुपर्ने प्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार जन्ममिति टाइप गर्दा विक्रम संवत्‌मा वर्ष, महिना र गतेको फर्म्याटमा टाइप गर्नुपर्नेछ।

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने प्रवक्ता ढकालले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित