फाल्गुन १३, डेस्क। सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायत बस्ने तीनजना पक्राउ परेका छन् ।
पीडित परिवारले दिएको किटानी जाहेरी बाहेकका आठ जनालाई प्रहरीले अनुसन्धानका लागि शनिबार पक्राउ गरेको थियो । तीमध्ये तीन जना पञ्चायत बस्ने मध्ये नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास अहिले पक्राउ परेका छन् । प्रहरीले उनीहरुविरुद्ध पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट प्रहरीले पाँच दिनको म्याद लिएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले घटना दबाउन र गाउँमै मिलापत्र गर्न भूमिका खेलेको देखिएकाले तिनै जना माथि अदालतबाट सोमबार पहिलो पटक पाँच दिनको म्याद लिएको जानकारी दिएका छन् । उनले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको अन्य केहि व्यक्तिको संलग्नता नदेखिएपछि छाडिएको बताए ।
प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका चन्देश्वर, रामविनोद र कमलेशमाथि पीडित परिवारले जाहेरी दिएका छैनन् । डिएसपी पासवानले जाहेरी नपरे पनि घटनामा संलग्न देखिए आवश्यक कारबाही हुने बताए । उनले भने, ‘उनीहरूमाथि पञ्चायत बसेर घटना मिलाउन नहुने सम्बन्धी मुद्दा चल्छ ।’






