महाशिवरात्रि मनाउन डेढ करोड बजेट, एसपीको नेतृत्वमा ४ हजार प्रहरी परिचालन गरिँदै

|

फाल्गुन १२,डेस्क। यसवर्ष महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । भने महाशिवरात्रिमा पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गर्नेछन् ।

एसपीको कमाण्डमा मंगलबारदेखि नै प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचाल गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ ।’ फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्‍मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यसवर्ष महाशिवरात्रिमा १ करोड ५० लाख बजेट खर्च हुने अनुमान गरिएको कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी बताएका छन् । उनले भने, ‘यसवर्ष महाशिवरात्रीका लागि सरकारले १ करोड ५० लाख बजेट छुट्याएको छ। ‘ उनका अनुसार महाशिवरात्रि पर्वमा खर्च भएका सबै विवरण १५ दिनभित्र पेश गर्न सम्बन्धित समितिहरूलाई पेश गर्न भनिएको छ ।

महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ ।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित