माइती नेपाल धनुषाद्वारा बार्षिक बिवरण सार्वजनिक

|

फागुन ११,धनुषा। माइती नेपाल धनुषाले सन् २०२४ को आफ्नो वार्षिक कार्यसम्पादन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। माइती नेपाल धनुषाशाखाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले संगठनले एक वर्षभर गरेका महत्वपूर्ण कामहरुको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार, सन् २०२४ मा माइती नेपाल धनुषा शाखाले गृह संरक्षणमा १०० जना महिला तथा बालबालिकालाई आश्रय दिएको थियो। तिनमध्ये १८ वर्षभन्दा कम उमेरका ४६ जना र १८ वर्षभन्दा माथिका ५४ जना रहेका थिए। सीमावर्ती क्षेत्रबाट उद्धार गरिएका ४४ जना पनि यही संरक्षणमा राखिएका थिए।

यसैगरी, घरेलु हिंसा तथा अन्य समस्यामा परेका १७२ जनामध्ये १०० जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो। उद्धार र संरक्षणमा रहेका १७२ जनामध्ये धेरैलाई परिवारसँग पुनर्मिलन गराइएको थियो। सिमा क्षेत्रमा ८,३८२ साधन चेकजाँच गर्दा ५,१९२ जनालाई आवश्यक परामर्श पनि दिइएको थियो। खोजतलासका १५ निवेदनहरुमध्ये १ जनालाई सफलतापूर्वक फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको थियो।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुधनारायण सहनी प्रमुख अतिथिका रुपमा उपस्थित थिए। इनसेक मधेस प्रदेशका प्रमुख राजु पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित