माघ १४, डेस्क। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु.एक लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याउने बताएका छन्। हिजो आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत र कानुनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्नेगरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले जानकारी दिएका हुन्।
त्यसैगरी, सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म २८ प्रतिशत नेपाली नागरिकमात्रै बिमामा आबद्ध भएको स्थिति छ। त्यसमा पनि नवीकरण घट्दो क्रममा छ।
अहिलेको बीमा प्रणालीमा आम नागरिकको विश्वास घटिरहेको स्थिति छ। स्वास्थ्य बीमा ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य बिमामा आवश्यक सुधार र प्रक्रियालाई सहज बनाउँदै यसलाई सबै नागरिकको पहुँचमा पुर्याउने गरी हामीले निम्न कार्यक्रमहरु प्रस्ताव गरेका छौं। बीमाको हालको दायरालाई बढाएर यो मेरो प्रस्ताव हो कम्तीमा ५ लाख बराबरको बनाउनु पर्छ भन्ने प्रस्ताव रहेको छ।” उनले भने।






