माघ १०, डेस्क। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ओमानबाट पक्राउ परेका छन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौँ टोखा नगरपालिका ३ बस्ने विनोद पौडेललाई पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो।
एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ हिजो बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । उनलाई कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जानकारी दिएको छ।





