माघ ०९, डेस्क। पछिल्लो केहि समय देखि सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ ।
साउन महिनामा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । त्यसको ६ महिनापछि अहिले सिमेन्टको भाउ दोब्बर पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिएका छन्।”अहिले सिमेन्ट प्रतिबोरा साढे ७ सयदेखि ८ सय १५ रुपैयाँसम्म बिक्री भएको छ ।” यसले आम सर्वसाधारणलाई समस्यामा पारेको छ ।”
प्रायः हिउदयाममा चुनढुंगा, ढुवानी खर्च, नियमित विद्युत आपूर्ति नहुँदा सिमेन्टको मूल्य बढ्ने गरेको व्यवसायीहरूले बताएका छन्। ‘विगत वर्षहरुको तथ्यांक हेर्ने हो भने हिउदयाममा प्रायः सिमेन्टको मूल्य बढ्ने गर्छ,’ सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले भने, ‘अहिले उद्योगमा १२ घन्टासम्मको लोडसेडिङ भइरहेको छ, यसले लागत बढाएको छ। त्यसैले गर्दा सिमेन्टको भाउ पनि यो समय बढेको हो।’
उनले विद्युत प्रतियुनिट ९ रूपैयाँ पर्ने भए पनि लोढसेडिङमा जेनेरेटर चलाउँदा एक युनिटलाई ४१ रूपैयाँसम्म पर्ने गरेको बताए। यसको कारण एक टन सिमेन्ट उत्पादनमा थप ३७ सय रूपैयाँ लागत बढी परिरहेको उनले जानकारी गराएका हुन् ।





