माघ ०४,पोखरा। सहकारीको रकम हिनामिन गरेर फरार गितेन्द्रबाबु राई (जिबी) को पासपोर्ट रद्द गर्न अदालतले आदेश जारी गरेको छ। जिल्ला अदालत कास्कीले शुक्रबार जीबिको पासपोर्ट रद्द गर्ने आदेश राहदानी विभागलाई दिएको हो।
जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले जिबीको पासपोर्ट रद्द गर्नलाई आदेश दिएको स्रेस्तेदार राजन खनालले बताए। राहदानी विभागलाई लेखी पठाउन आदेश दिएको उनको भनाइ छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाका मुख्य योजनाकार राई फरार भएर विदेशमा लुकेपछि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पासपोर्ट रद्वका लागि अदालतमा निवेदन दिएको थियो। त्यसैको सुनवाई गर्दै अदालतले आदेश जारी गरेको छ।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता गराएको थियो। जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो।
त्यस्तै, पुस ७ गते राष्ट्रिय सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ लगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग दर्ता गरेको थियो।
पुस २५ गते जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईले इजालसले रविसहित हिरासतमा रहेका ७ जनालाई धरौटीमा छाड्ने थुनछेक आदेश दिएको थियो।





